CARTER CENTER

द कार्टर सेण्टर
कार्टर सेण्टर एउटा गैरनाफामूलक गैरसरकारी संस्था हो । यसले द्वन्द्व समाधान गरेर; लोकतन्त्र, मानव अधिकार तथा आर्थिक अवसरलाई अगाडि बढाएर; रोगहरू रोकथाम गरेर; तथा मानसिक स्वास्थ्य स्याहारमा सुधार गरेर ८० वटाभन्दा बढी राष्ट्रका जनताको जीवनमा सुधार ल्याउन सहयोग गरेको छ । कार्टर सेण्टरको स्थापना विश्वव्यापी रूपमा शान्ति तथा स्वास्थ्यलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिमि कार्टर र उहाँकी श्रीमती रोजेलिनले इमोरी विश्वविद्यालयसँगको साझेदारीमा सन् १९८२ मा स्थापना गर्नुभएको थियो ।
कार्टर सेण्टरको लोकतन्त्र कार्यक्रमले मानव अधिकार अनुरूप लोकतान्त्रिक निर्वाचन तथा शासन प्रवर्द्धन गर्न विश्वव्यापी रूपमा काम गर्दछ ।
निर्वाचन पर्यवेक्षण
कार्टर सेण्टरले सन् १९८९ यता हाल निर्वाचनको क्षेत्रमा सामान्य भइसकेका कतिपय विधिहरू निर्माण गरेर ३८ वटा राष्ट्रमा १०० वटाभन्दा बढी निर्वाचनको अनुगमन गरिसकेको छ । निर्वाचन प्रक्रियाहरूको गुणस्तर तथा वैधताबारे धारणा निर्माणमा निष्पक्ष तथा विश्वसनीय मानिएका निर्वाचन पर्यवेक्षकहरूले प्रमुख भूमिका निर्वाह गरेका हुन्छन् । आफ्ना निर्वाचन पर्यवेक्षण गतिविधिका लागि अर्थपूर्ण तथा निष्पक्ष भूमिका सुनिश्चित गर्नका लागि कार्टर सेण्टरलाई राष्ट्रको निर्वाचन निकायहरूद्वारा आमन्त्रण गरिएको हुनुपर्दछ र त्यहाँका प्रमुख राजनैतिक दलहरूद्वारा स्वागत गरिएको हुनुपर्दछ ।
निष्पक्ष पर्यवेक्षणका लागि मार्गनिर्देशिकाहरू निर्माण
कार्टर सेण्टरले संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोग महाशाखा (UNEAD) र राष्ट्रिय लोकतान्त्रिक संस्थान (NDI) को सहयोगमा अन्तरराष्ट्रिय पर्यवेक्षण सम्बन्धी सिद्धान्तको घोषणापत्र निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । निर्वाचन पर्यवेक्षणका लागि व्यावसायिक मार्गनिर्देशिकाहरू स्थापना गर्ने उक्त घोषणापत्रलाई विश्वभरिका ५० वटाभन्दा बढी संस्थाहरूले अनुमोदन गरिसकेको छ ।
लोकतान्त्रिक निर्वाचनका लागि मापदण्डसम्बन्धमा सहमति निर्माण
लोकतन्त्र कार्यक्रमको लोकतान्त्रिक निर्वाचन मापदण्ड (DES) परियोजनाको उद्देश्य सार्वजनिक अन्तरराष्ट्रिय कानुन अन्तर्गत राष्ट्रिय दायित्वका आधारमा लोकतान्त्रिक निर्वाचनका लागि मापदण्ड सम्बन्धमा सहमति निर्माण गर्नु हो । सन् २०१० मा सार्वजनिक गरिएको "लोकतान्त्रिक निर्वाचनका लागि दायित्व सम्बन्धी तथ्याङ्क भण्डार" निर्वाचनहरूको मूल्याङ्कनका लागि साझा आधारको स्रोतका रूपमा उपयोग गर्न सेण्टरले निर्माण गरेका व्यावहारिक साधनहरूमध्ये एउटा हो । उक्त तथ्याङ्क भण्डारमा मानव अधिकार तथा निर्वाचनसँग सम्बन्धित अन्तरराष्ट्रिय कानुनका २०० वटाभन्दा बढी स्रोतहरू जम्मा गरिएको छ ।
यस सेण्टरले नवीनतम ओपन–सोर्स सफ्टवेयर एल्मो (निर्वाचन अनुगमन) पनि निर्माण गरेको छ । यस सफ्टवेयरले पर्यवेक्षकहरूद्वारा सङ्कलन गरिएका तथ्याङ्कको शीघ्र सङ्कलन तथा विश्लेषण सम्भव बनाउँछ र यसलाई चाँडै नै लोकतान्त्रिक निर्वाचनका लागि निश्चित दायित्वसँग एकीकृत गरिँदै छ ।
सङ्क्रमण अनुगमन तथा लोकतान्त्रिक प्रक्रियाका लागि दीर्घकालीन सहयोग
निर्वाचनको तुलनामा धेरै काम लोकतान्त्रिक सङ्क्रमणका सन्दर्भमा गरिनुपर्ने कुरालाई स्वीकार्दै कार्टर सेण्टरले राजनैतिक सङ्क्रमणको दीर्घकालीन अनुगमन पनि गर्ने गरेको छ । यसले लोकतान्त्रिक शासनलाई सहयोग पुर्याउन नागरिक समाज संस्थाहरूको सशक्तीकरणका लागि पनि काम गर्ने गरेको छ । हालै मात्र यस्तो कार्य ट्युनिसिया र लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गरिएको थियो ।
वेबसाइट: http://www.cartercenter.org/