EISA

Election Institute for Sustainable Democracy in Africa
अफ्रिकामा दिगो लोकतन्त्रका लागि निर्वाचन संस्था (EISA)
अफ्रिकामा दिगो लोकतन्त्रका लागि निर्वाचन संस्थान (EISA) दक्षिण अफ्रिकी उप–क्षेत्रमा निर्वाचनमा केन्द्रित भएर काम गरिरहेको गैससबाट विकसित भएर अफ्रिका महादेशभरि नै काम गर्न थालेको थप विविधतायुक्त संस्थामा परिणत एक गैरसरकारी संस्था हो । यो संस्था राष्ट्रिय, क्षेत्रीय, पान–अफ्रिकी तथा विश्वव्यापी साझेदारहरूसँग काम गर्दछ । यसको काम निर्वाचन सहयोगमा मात्र सीमित नभएर राजनैतिक दलका लागि सहयोग, कानुनी सशक्तीकरण तथा अफ्रिकी दौँतरी समीक्षा संयन्त्रको नागरिक समाज संलग्नता जस्ता अन्य लोकतन्त्र तथा शासन क्षेत्रमा पनि विस्तार भएको छ ।
EISA का बुरुन्दी, मध्य अफ्रिकी गणराज्य (CAR), चाद, कोटेडेभ्वा, लोकतान्त्रिक गणतन्त्र कङ्गो (DRC), ग्याबोन, केन्या, म्याडागास्कर, मोजाम्बिक, रुवाण्डा, सोमालिया, सुडान, जाम्बिया तथा जिम्बाबे जस्ता राष्ट्रहरूमा वर्तमान तथा पूर्व स्थलगत कार्यालयहरू छन् । यसले यसको वृहद् भौगोलिक कार्यक्षेत्र तथा समेटाइलाई प्रतिविम्बित गर्दछ ।
सन् १९९६ मा EISA को स्थापना भएदेखि यता यसले अफ्रिकामा एक सयभन्दा बढी निर्वाचन तथा राजनैतिक प्रक्रियाहरूलाई सहयोग तथा पर्यवेक्षण गरिसकेको छ ।
EISA ले ACE निर्वाचन सञ्जालमा निर्वाचन तथा लोकतन्त्रबारे अफ्रिकी परिदृश्य पस्कने गरेको छ ।
EISA ले शान्तिपूर्ण वातावरणमा लोकतान्त्रिक शासन, मानव अधिकार तथा नागरिक सहभागितालाई अनुमोदन गरिएको अफ्रिकी महादेशको परिकल्पना गर्दै आएको छ । यस संस्थानले अफ्रिकामा लोकतन्त्रको सबलीकरणका लागि विश्वसनीय निर्वाचनको प्रवर्द्धन, सहभागितामूलक लोकतन्त्र, मानव अधिकारयुक्त संस्कृति तथा शासन संस्थाहरूको सशक्तीकरण सन्दर्भमा उत्कृष्ट कार्य गर्न प्रयास गरिरहेको छ ।
हाम्रो कार्य
· प्रशिक्षण कार्यक्रमहरू
EISA ले मतदाता शिक्षा एवं नागरिक शिक्षा, नागरिक सहभागिता, लोकतन्त्र एवं मानव अधिकार शिक्षा, निर्वाचन पर्यवेक्षण एवं निर्वाचन कर्मचारी प्रशिक्षण क्षमता अभिवृद्धि कार्यक्रमहरू, राजनैतिक दल मतदान अवलोकन, नवनिर्वाचित प्रतिनिधिहरूका लागि क्षमता अभिवृद्धि, राजनैतिक दल सशक्तीकरण, निर्वाचनमा उठ्नका लागि महिला क्षमता अभिवृद्धि, लैङ्गिक एवं युवा बजेट निर्माण, राजनैतिक दलको क्षमता अभिवृद्धि कार्यक्रमहरू तथा पाठ्यक्रम निर्माण कार्यक्रमहरू लगायतका विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दछ । यी कार्यक्रममा प्रशिक्षार्थीका ज्ञान र अनुभवलाई दृष्टिगत गरी अन्तरक्रियात्मक तथा सहभागितामूलक विधि अपनाउने गरिएको छ ।
· ज्ञान तथा सूचना
EISA ले लोकतन्त्रको संस्थागत विकासका लागि हाल भइरहेका प्रगतिलाई सघाउँदै अनुसन्धान, प्रकाशन, नीतिगत संवाद, सञ्जाल तथा सूचना स्रोतहरूमार्फत् विद्यमान अफ्रिकामा लोकतन्त्र, निर्वाचन तथा शासनसम्बन्धी ज्ञान भण्डारमा योगदान गरिरहेको छ । EISA ले दुई सयभन्दा बढी पुस्तकहरू, पत्रिकाहरू, प्रतिवेदनहरू तथा सर्वेक्षणहरू प्रकाशित गरिसकेको छ । EISA का कर्मचारीहरूले अफ्रिका महादेश तथा विश्वव्यापी रूपमै प्रवचन तथा कार्यपत्र प्रस्तुति गर्ने गरेका छन् ।
EISA को एउटा वृहद् पुस्तकालय छ । EISA को वेबसाइटमा निर्वाचनसम्बन्धी सूचना, निर्वाचन प्रणालीका विभिन्न पक्षबारे तुलनात्मक सूचना, अद्यावधिक निर्वाचन पात्रो तथा छानिएका अनलाइन स्रोतहरूको लिङ्क लगायतका विस्तृत एवं अद्यावधिक सामग्रीहरू प्रस्तुत गरिएको छ ।
· अनलाइन लोकतन्त्र विश्वकोष
लोकतन्त्र विश्वकोषले अत्यावश्यक, सही तथा समसामयिक सूचना उपलब्ध गराएर निर्वाचन निकायहरूदेखि नागरिक समाजका कार्यकर्ताहरूसम्म तथा प्राज्ञिकहरूदेखि राजनैतिक दलका कार्यकर्ताहरूसम्मका निर्वाचन सुधार तथा लोकतान्त्रिक शासन क्षेत्रका कार्यकर्ताहरूलाई सशक्त बनाउँदछ ।
EISA का निर्वाचन एवं राजनैतिक प्रक्रियाहरू तथा शासन संस्थाहरू एवं प्रक्रियाहरू गरी दुई कार्यक्रमगत क्षेत्रहरू छन् ।
· निर्वाचन एवं राजनैतिक प्रक्रियाहरू (EPP)
लोकतन्त्रको भरणपोषण समाजभित्रैबाट हुनुपर्दछ भन्ने मान्यतामा यस विभागको कार्यशैली केन्द्रित रहेको छ । विश्वव्यापी, क्षेत्रीय, राष्ट्रि तथा स्थानीय संस्थाहरूको सञ्जालका माध्यमबाट क्रियाकलापहरू सञ्चालन गरिन्छन् । यसले स्वामित्वलाई मात्र सुनिश्चित गर्दैन, सकारात्मक दौँतरी सिकाइ, सहयोग र अनुभव आदानप्रदानलाई पनि प्रोत्साहित गर्दछ ।
EPP हस्तक्षेपको एउटा मुख्य तत्व निर्वाचन प्रक्रियामा आफ्ना अधिकार अनुसारका भूमिकाहरू प्रभावकारी रूपमा निर्वाह गर्न निर्वाचन व्यवस्थापन निकायहरू, क्षेत्रीय तथा उप–क्षेत्रीय निकायहरू, नागरिक समाज संस्थाहरू तथा राजनैतिक दलहरूलाई सहयोग गर्नु हो । यस परिप्रेक्ष्यमा EISA ले अफ्रिकी सङ्घ तथा क्षेत्रीय आर्थिक समुदायहरू जस्ता संस्थाहरूलाई निर्वाचन मूल्याङ्कन तथा प्राविधिक सहयोगका क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने गरेको छ । EPP ले प्रशिक्षण तथा अन्य निर्वाचनसँग सम्बन्धित क्षमता अभिवृद्धि क्रियाकलापहरू सञ्चालन गर्दछ, यसले EISA ले निर्वाचन पर्यवेक्षण नियोगहरू खटाउने तथा निर्वाचन मूल्याङ्कन विधिहरू निर्माण गर्ने कार्यमा पनि समन्वय गर्दछ ।
निर्वाचन सहयोग:
· महादेशीय तथा क्षेत्रीय संस्थाहरूलाई सहयोग: EISA ले अफ्रिकी सङ्घ तथा क्षेत्रीय आर्थिक समुदायहरू (Regional Economic Community-REC) लाई निर्वाचन मूल्याङ्कन क्षेत्रमा आफ्ना क्षमता सशक्त बनाउन प्राविधिक सहयोग उपलब्ध गराउँछ ।
· निर्वाचन व्यवस्थापन निकायहरूलाई प्राविधिक सहयोग: यसमा मतदाता दर्ता, निर्वाचन कानुन तर्जुमा तथा नवनियुक्त निर्वाचन आयोगहरूलाई अभिमूखीकरणका लागि सहयोग; निर्वाचन द्वन्द्व व्यवस्थापन प्रशिक्षण जस्ता प्राविधिक सहयोगहरू पर्दछन् ।
· निर्वाचन प्रक्रियामा नागरिक समाज सहभागिताको सशक्तीकरण: EISA ले प्रशिक्षण सामग्री निर्माण, प्रतिवेदन लेखन, प्रशिक्षण, पर्यवेक्षकहरूको खटनपटन तथा समन्वयका लागि सहयोग उपलब्ध गराएर नागरिक निर्वाचन पर्यवेक्षण सञ्जालहरू स्थापना गर्नका लागि सहजीकरण गर्न सहयोग उपलब्ध गराउँछ ।
· निर्वाचन सुधार तथा समीक्षा: EISA ले हालसालैका निर्वाचनहरूबारे समीक्षा तथा सोधपूछ गर्न, कमजोरी तथा सशक्त पक्षहरू पहिचान गर्न तथा सुधारका लागि रणनीतिहरू तर्जुमा गर्न सम्पूर्ण सराकोरवालाहरूसँग काम गर्दछ । यस्ता समीक्षाहरू केन्या, मौरिसियस, मोजाम्बिक, युगाण्डा तथा जाम्बिया जस्ता छानिएका राष्ट्रहरूमा भइसकेका छन् । ईआईएसएले निर्वाचन प्रक्रियालाई परिमार्जित गर्नका लागि निर्वाचन सुधार क्षेत्रमा पनि सरोकारवालाहरूलाई सहयोग गर्ने गरेको छ ।
· निर्वाचन व्यवस्थापन, अनुगमन तथा पर्यवेक्षणका सिद्धान्तहरू: EISA ले SADC राष्ट्रहरूको निर्वाचन आयोगहरूको मञ्च तथा नागरिक समाजमा आधारित निर्वाचन सहयोग सञ्जाल (SADC ESN) सँगको सहकार्यमा सन् २००३ नोभेम्बरमा जोहानेसवर्गमा भएको सम्मेलनमा एकडीसी क्षेत्रमा निर्वाचन व्यवस्थापन, अनुगमन तथा पर्यवेक्षण (PEMMO) का लागि सिद्धान्तहरू तयार गरी अनुमोदन गरेको थियो र त्यसमा नागरिक समाज संस्थाहरू तथा SADC क्षेत्रका निर्वाचन निकायका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए । SADC क्षेत्रभरिनै निर्वाचन आयोगहरूको मञ्च तथा आन्तरिक निर्वाचन पर्यवेक्षण सञ्जालहरूले यसको प्रयोग गर्ने गरेका छन् ।
· निर्वाचन मूल्याङ्कन: EISA ले पूर्व–निर्वाचन मूल्याङ्कन नियोग, प्राविधिक सहयोग नियोग तथा निर्वाचन पर्यवेक्षण नियोगहरूका रूपमा ६० वटाभन्दा बढी निर्वाचन मूल्याङ्कन नियोगहरू खटाएको छ ।
· समानान्तर मत तालिकीकरण: EISA ले यो तथ्याङ्कमा आधारित विधि निर्वाचन व्यवस्थापन निकायद्वारा प्रकाशित गरिएका निर्वाचन परिणामहरूको तथ्यपरकताको स्वतन्त्र मूल्याङ्कन गर्न एकपछि अर्काे राष्ट्रिय तथा स्थानीय निर्वाचनहरू, उदाहरणका लागि मोजाम्बिकमा सफलतापूर्व उपयोग गरेको छ ।
निर्वाचनसँग सम्बन्धित द्वन्द्व व्यवस्थापन:
EISA को विचारमा निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन गर्नका लागि निर्वाचनको सेरोफेरोमा द्वन्द्व व्यवस्थापन, रोकथाम र समाधान अत्यन्त महत्वपूर्ण हुन्छ । निर्वाचन द्वन्द्व व्यवस्थापन समूह स्थापनाको माध्यमबाट निर्वाचनसँग सम्बन्धित द्वन्द्व व्यवस्थापन गर्ने मौलिक कार्यक्रम EISA ले तयार गरेको छ । EISA ले निर्वाचन द्वन्द्व व्यवस्थापन सीपबारे निर्वाचन व्यवस्थापन निकायहरू तथा निर्वाचनसम्बन्धी सरोकारवालाहरूलाई प्रशिक्षण पनि दिने गरेको छ ।
मतदान तथा निर्वाचनसम्बन्धी सेवाहरू (BES) :
EISA को मतदान तथा निर्वाचनसम्बन्धी सेवाहरूले व्यावसायिक संस्थानहरू तथा नागरिक समाज क्षेत्रका लागि निर्वाचन सञ्चालन गर्ने गर्दछ । हाम्रा सेवाहरू व्यावसायिक, श्रम, सरकार, नागरिक संस्थाहरू, क्षेत्रीय संस्थाहरू, समुदायमा आधारित संस्थाहरू, अर्ध-सरकारी निकायहरू तथा राजनैतिक दलहरू लगायतका विभिन्न संस्थाहरू तथा वैधानिक निकायहरूलाई उपलब्ध गराइएको छ । BES ले विद्युतीय मतदान, एसएमएस मतदान तथा अनलाइन मतदान लगायतका अद्यावधिक मतदान प्रविधिहरू प्रयोगमा ल्याएको छ ।
· शासन संस्थाहरू तथा प्रक्रियाहरू
शासन संस्थाहरू तथा प्रक्रियाहरूमा निम्नलिखित कार्यक्रमहरू रहेका छन् :
अफ्रिकी दौँतरी समीक्षा संयन्त्र (APRM)
अफ्रिकी दौँतरी समीक्षा संयन्त्र (APRM) अफ्रिकी शासन क्षेत्रमा एउटा नवीनतम तथा चुनौतीपूर्ण पहल हो । अफ्रिकामा लोकतान्त्रिक तथा उत्तरदायी शासन अभिवृद्धि गर्ने आफ्नो प्रयासको एक अंशका रूपमा EISA सन् २००४ देखि नौ राष्ट्रहरू इथियोपिया, केन्या, लेसोथो, मलावी, मौरिसियस, मोजाम्बिक, ताञ्जानिया, दक्षिण अफ्रिका तथा युगाण्डामा राष्ट्रिय APRM प्रक्रियाहरूमा संलग्न भइरहेको छ ।
राजनैतिक दल सशक्तीकरण
EISA ले निर्वाचनहरूको बीचमा राजनैतिक दलहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । दिगो लोकतन्त्र अन्य कुराहरूका अतिरिक्त राम्ररी सञ्चालनमा रहेका राजनैतिक दलहरूमा पनि निर्भर रहन्छ भन्ने सिद्धान्तबाट यो सूचित छ । EISA ले राजनैतिक दलहरू यस क्षेत्रमा तथा यसभन्दा पर पनि प्रभावकारी होऊन् भन्ने उद्देश्यले उनीहरूका निम्नलिखित प्रमुख वा विषयगत क्षेत्रहरूलाई सम्बोधन गर्दछ: राजनैतिक दलहरूमा लैङ्गिक प्रतिनिधित्व; आन्तरिक सङ्गठनात्मक व्यवस्थापन; दलहरूका व्यवस्थापन तथा कार्य सञ्चालन; राजनैतिक दलहरूभित्र नेतृत्व गुणहरू; द्वन्द्व तथा द्वन्द्व व्यवस्थापन; जनसम्पर्क कार्यक्रमहरू तथा अन्तर–दल सम्बन्ध । EISA को राजनैतिक दल कार्यक्रमले लैङ्गिक तथा युवा बजेट तर्जुमा सहित नवीनतम प्रशिक्षण सामग्रीहरू तयार गरेको छ ।
विधायिकी सहयोग
यस कार्यक्रमको उद्देश्य अफ्रिकाका छानिएका संसदहरूलाई सशक्त बनाउनु तथा सुधारिएको सहभागितामूलक लोकतन्त्रका लागि संसदहरू एवं नागरिक समाजबीच संवादलाई प्रोत्साहित गर्नु हो । यसले नव निर्वाचित प्रतिनिधिहरू तथा संसदीय कर्मचारीहरूलाई आफ्ना उत्तरदायित्वहरू प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पादन गर्नका लागि सीपहरू पनि उपलब्ध गराउने गरेको छ ।
सम्पर्क सूचना:
प्रधान कार्यालय, दक्षिण अफ्रिका
फोन: +२७ ११ ३८१ ६०००÷१÷२÷३÷४÷५÷६÷७
फाक्स: +२७ ११ ४८२ ६१६३
स्थलगत ठेगाना
१४ पार्क रोड, रिचमण्ड, जोहानेसवर्ग ।
हुलाक ठेगाना
हुलाक मञ्जुश्रा ७४० ड्ड अकल्याण्ड पार्क २००६ ड्ड दक्षिण अफ्रिका
वेबसाइट: http://www.eisa.org.za/