IDEA

International Institute for Democracy and Electoral Assistance- IDEA
अन्तराष्ट्रिय आइडिय
विश्वभरि दिगो लोकतन्त्रलाई सहयोग गर्ने अन्तरराष्ट्रिय संस्था हो । यसको उद्देश्य तुलनात्मक ज्ञान उपलब्ध गराएर, लोकतान्त्रिक सुधारका लागि सहयोग गरेर तथा नीतिहरू एवं राजनीतिलाई प्रभावित गरेर दिगो लोकतान्त्रिक परिवर्तनका लागि सहयोग गर्नु हो । यसको लक्ष्य लोकतान्त्रिक संस्थाहरू तथा प्रक्रियाहरूलाई सशक्त बनाउनु हो । आईडिया एस परियोजनाका संस्थापक साझेदारहरूमध्ये IDEA एउटा हो भने अहिले यसले ACE को अन्तरिम सचिवालयका रूपमा काम गरिरहेको छ ।
International IDEA ले लोकतन्त्रसम्बन्धी मुद्दाहरूबारे ज्ञान स्रोतहरू, विशेषज्ञहरू तथा मञ्च उपलब्ध गराएर लोकतन्त्र निर्माणका लागि उत्प्रेरकको रूपमा काम गर्दछ । यसले नीति निर्माताहरू, दातृ सरकारहरू, संयुक्त राष्ट्रसङ्घीय संस्थाहरू एवं निकायहरू, क्षेत्रीय संस्थाहरू तथा लोकतन्त्र निर्माणमा संलग्न अरुसँग सहकार्य गर्दछ ।
International IDEA ले के गर्दछ ?
लोकतन्त्र निर्माण जटिल छ र यसमा निर्वाचन, संविधान निर्माण, राजनैतिक दलहरू, महिलाको राजनैतिक सशक्तीकरण तथा लोकतन्त्रको स्व–मूल्याङ्कन जस्ता धेरै क्षेत्रहरू जोडिएका हुन्छन् । International IDEA यी सबै मुद्दामा संलग्न हुँदै आएको छ र तीन वटा कार्य क्षेत्रका माध्यमबाट यसले आफ्ना काम गर्न गरेको छ :
· विश्वभरि विविधतायुक्त सन्दर्भमा अपनाइएका लोकतन्त्र निर्माण प्रक्रियासम्बन्धी व्यावहारिक अनुभवबाट प्राप्त तुलनात्मक ज्ञानलाई हातेपुस्तक, तथ्याङ्क भण्डार, वेबसाइटहरू तथा विशेषज्ञ सञ्जालहरूका रूपमा उपलब्ध गराएर;
· लोकतान्त्रिक व्यवस्थाहरू तथा प्रक्रियाहरूमा सुधार गर्न राजनीतिकर्मीहरूलाई सहयोग गरेर, तथा यी प्रक्रियामा संलग्न हुनका लागि आमन्त्रण गरिएको समयमा संलग्न भएर;
· तुलनात्मक ज्ञान स्रोत तथा राजनीतिकर्मीका लागि सहयोगको व्यवस्थाका माध्यमबाट लोकतन्त्र निर्माण नीतिहरूलाई प्रभावित बनाएर ।
विशेषज्ञता क्षेत्र
International IDEA ले विश्वभरि नै लोकतन्त्रका लागि सहयोग गर्दछ र लोकतान्त्रिक व्यवस्थाहरू तथा प्रक्रियाहरूलाई सशक्त बनाउनमा प्रतिबद्ध छ । यसले सरकारहरू, संयुक्त राष्ट्रसङ्घीय निकायहरू, क्षेत्रीय संस्थाहरू तथा अन्तरराष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय तथा स्थानीय तहमा लोकतन्त्र निर्माणमा संलग्न भएका अन्यसँग काम गर्दछ । IDEA को विशेषज्ञता क्षेत्र हुन् :
· संविधान निर्माण प्रक्रियाहरू: विभाजित समाजहरूमा लोकतान्त्रीकरण र द्वन्द्व व्यवस्थापनको एउटा प्रमुख तत्व संविधान निर्माण हो । राष्ट्रिय रूपमा स्वीकारिएको, लैङ्गिक तथा द्वन्द्व रोकथाम आयामहरूप्रति संवेदनशील दिगो संविधान उत्पादन गर्ने समावेशी तथा सहभागितामूलक संविधान निर्माण प्रक्रियालाई International IDEA ले सहयोग गर्दछ ।
· निर्वाचन प्रक्रियाहरू : वृहद् राजनैतिक प्रणालीमा निर्वाचनको संरचना र व्यवस्थापनको बलियो प्रभाव परेको हुन्छ । International IDEA निर्वाचनको व्यावसायिक व्यवस्थापन तथा स्वतन्त्रता सुनिश्चित गर्न, निर्वाचन प्रणालीहरूलाई अनुकूल बनाउन तथा निर्वाचन प्रक्रियाप्रति सर्वसाधारणको विश्वास निर्माण गर्न चाहन्छ ।
· राजनैतिक दलहरू: राजनैतिक दलहरूले मतदाता तथा सरकारबीच अत्यावश्यक सेतु स्थापना गर्दछ । त्यसो भए पनि राजनैतिक दलहरूप्रति मतदाताको विश्वास नहुने तथा आफ्नै संस्थागत समस्याहरूबाट उनीहरू जेलिने गरेका कारण विश्वव्यापी रूपमा उनीहरूप्रति व्यापक असन्तोष रहने गरेको छ । International IDEA ले राजनैतिक दलहरूको कार्य सञ्चालन शैली, राजनैतिक दलहरूको सार्वजनिक आर्थिक सहयोग, उनीहरूको व्यवस्थापन तथा सर्वसाधारणसँग उनीहरूको सम्बन्धबारे विश्लेषण गर्दछ ।
· लोकतन्त्र तथा लैङ्गिकता: लोकतन्त्र वास्तवमै लोकतान्त्रिक हुने हो भने विश्वकै आधा जनसङ्ख्याका रूपमा रहेका महिलाको प्रतिनिधित्व समान रूपमा हुनुपर्ने मान्यता अन्तरराष्ट्रिय आइडियाको छ । राजनैतिक जीवनमा महिलाको प्रतिनिधित्व तथा सहभागितालाई अगाडि बढाउनका लागि संरचित गरिएका तुलनात्मक स्रोत तथा साधनहरू International IDEA ले निर्माण गर्दछ ।
· लोकतान्त्रको लेखाजोखा: लोकतान्त्रीकरण राष्ट्रिय प्रक्रिया हो । IDEA को लोकतन्त्रको अवस्था विधिले जनतालाई आफ्नो लोकतन्त्रको गुणस्तरबारे मूल्याङ्कन गर्न र नीतिगत तथा लोकतान्त्रिक सुधारका लागि प्राथमिकता क्षेत्रहरू परिभाषित गर्न सक्षम बनाउँछ ।
· निर्वाचन तथा द्वन्द्व: लोकतन्त्रले सधैँ विविधतापूर्ण एवं प्रतिस्पर्धारत सामूहिक दाबीहरूको शान्तिपूर्ण व्यवस्थापनका लागि उपाय उपलब्ध गराउँछ । IDEA लोकतान्त्रिक संस्था तथा प्रक्रियाहरूको ‘द्वन्द्व व्यवस्थापन’ क्षमता सशक्त बनाउन र आफ्ना सम्पूर्ण कार्यक्रम क्रियाकलापका उद्देश्यका रूपमा शान्ति निर्माण तथा द्वन्द्व रोकथामलाई समेटेर हिंसक भिडन्तको सम्भावनालाई न्यूनीकरण गर्न चाहन्छ ।
International IDEA ले कहाँ काम गर्दछ ?
International IDEA ले विश्वव्यापी रूपमा काम गर्दछ । यसको मुख्य कार्यालय स्टकहोम, स्वीडेनमा छ भने कार्यालयहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियामा रहेकाछन् ।
International IDEA का सदस्य राष्ट्रहरू को को हुन् ?
International IDEA का २५ वटा सदस्य राष्ट्रहरू छन् । ती हुन् – अष्ट्रेलिया, बार्बाडोस, बेल्जियम, बोत्स्वाना, क्यानाडा, केप भेर्डे, चिली, कोस्टारिका, डेनमार्क, फिनल्याण्ड, जर्मनी, घाना, भारत, मौरिसियस, मेक्सिको, नामिबिया, निदरल्याण्ड्स, नर्वे, पेरु, पोर्तुगल, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र उरुग्वे । जापान यसको पर्यवेक्षक सदस्यका रूपमा रहेको छ ।
सम्पर्कसम्बन्धी जानकारी
International IDEA, स्ट्रोमसबोर्ग,
एसई–१०३ ३४ स्टकहोम, स्वीडेन
फोन ः +४६ ८ ६९८ ३७ ००, फाक्स ः +४६ ८ २० २४ २२
ई–मेल: [email protected] वेबसाइट: http://www.idea.int/