UNEAD

संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोग महाशाखा (UNEAD)
संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोग महाशाखा (UNEAD) संयुक्त राष्ट्रसङ्घीय राजनीतिक गतिविधि विभाग (UNDPA) को एउटा महाशाखा हो ।
विश्वभरिका राष्ट्रहरूमा अनौपनिवेशीकरण, लोकतान्त्रिक सङ्क्रमण तथा शान्ति सम्झौताहरूको कार्यान्वयनको एक अङ्गका रूपमा निर्वाचन स्थापित भइसकेको छ र संयुक्त राष्ट्रसङ्घले परिवर्तनका यी महत्वपूर्ण प्रक्रियाहरूका लागि सहयोग उपलब्ध गराउनमा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ ।
अनौपनिवेशीकरणको युगमा संयुक्त राष्ट्रसङ्घले नयाँ स्वतन्त्र राष्ट्रहरू सिर्जना गर्नका लागि आयोजना गरिएका जनमत सङ्ग्रहको सुपरीवेक्षण तथा पर्यवेक्षण गरेको थियो; वर्तमान समयमा यस संस्थाका प्रयासहरू विश्वसनीय तथा दिगो राष्ट्रिय निर्वाचन प्रणालीहरू तयार गर्न सदस्य राष्ट्रहरूलाई सघाउन प्राविधिक सहयोग उपलब्ध गराउनमा बढ्दो रूपमा केन्द्रित भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोग समयसँगसँगै विकास हुँदै आएको भए पनि यसको आधारभूत सिद्धान्तमा कुनै परिवर्तन भएको छैन । संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोगको आधार मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा २१ (३) हो । यसमा उल्लेख गरिएको छ – “सरकारको अधिकारको आधार जनताको इच्छा हुनेछ; यो इच्छा आवधिक तथा वास्तविक निर्वाचनहरूमा अभिव्यक्त हुनेछ ...।”
आफूलाई निर्वाचनसम्बन्धी कुरामा सुझाव दिन र संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोगमा सङ्गति तथा एकरूपता कायम भएको सुनिश्चित गर्न निर्वाचन सहयोगसम्बन्धी सम्पर्क व्यक्तिलाई अधिकार दिइनुपर्दछ भन्ने महासचिवको विचारलाई महासभाले सन् १९९१ को आफ्नो प्रस्ताव ४६/१३७ बाट अनुमोदन गरेको थियो । महासभाले सम्पर्क व्यक्तिलाई सहयोग गर्नका लागि एउटा सानो एकाईको सिर्जनालाई पनि अनुमोदन गरेको थियो । त्यसपछि राजनैतिक गतिविधिसम्बन्धी उप–महासचिवलाई संयुक्त राष्ट्रसङ्घीय सम्पर्क व्यक्तिका रूपमा नियुक्त गरिएको थियो, र उहाँलाई अहिले उहाँको काममा उक्त विभागको निर्वाचन सहयोग महाशाखाले सघाउने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय प्रणाली
संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोगले संयुक्त राष्ट्रसङ्घीय परिवारका कतिपय अङ्गहरूका परिपूरक विशेषज्ञता तथा क्षमताको प्रयोग गर्दछ । राजनैतिक गतिविधि विभागले केन्द्रीय समन्वयात्मक भूमिका निर्वाह गर्ने भए पनि निर्वाचन सहयोग परियोजनाहरू शान्तिस्थापना कार्यसञ्चालन विभाग, मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवक तथा परियोजना सेवासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय सहित विभिन्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूबाट कार्यान्वयन हुन्छन् ।
निर्वाचन सहयोगका प्राथमिक किसिमहरू
सन १९९० को दशकमा संयुक्त राष्ट्रसङ्घले क्याम्बोडियो, पूर्वी टिमोर, एलसाल्भाडोर, मोजाम्बिक तथा दक्षिण अफ्रिकामा ऐतिहासिक निर्वाचनहरू तथा सार्वजनिक विचार विमर्शहरूको आयोजना वा पर्यवेक्षण गरेको थियो । हालसालै मात्र, यस संस्थाले अफगानिस्तान, लोकतान्त्रिक गणतन्त्र कङ्गो, इराक र नेपाल जस्ता राष्ट्रहरूमा महत्वपूर्ण निर्वाचनका लागि महत्वपूर्ण प्राविधिक तथा बन्दोवस्ती सहयोग उपलब्ध गराएको छ । ठूलो परिमाणका निर्वाचन सञ्चालनका सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले उल्लेख्य मात्रामा सार्वजनिक ध्यानाकर्षण प्राप्त गरेको भए पनि अधिकांश निर्वाचन सहयोग राष्ट्रिय निर्वाचन निकायहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ अल्पकालीन एवं मध्यकालीन प्राविधिक परियोजनाहरूका माध्यमबाट उपलब्ध गराइएको छ । प्रारम्भिक संयुक्त राष्ट्रसङ्घीय सहयोगका क्रममा प्रमुख क्रियाकलापका रूपमा रहेको निर्वाचन पर्यवेक्षण हिजो आज दुर्लभ भइसकेको छ ।
संयुक्त राष्ट्रसङ्घले निकै धेरै किसिमका निर्वाचन सहयोग उपलब्ध गराउँदछ । प्रायः अनुरोध हुने गरेका प्राविधिक सहयोगका रूपमा निर्वाचन प्रशासन र योजना तर्जुमा, निर्वाचन कानुनहरू एवं नियमहरूको समीक्षा, निर्वाचन विवाद निरुपण, सीमाङ्कन, मतदाता दर्ता, निर्वाचन बजेट तर्जुमा, बन्दोबस्ती तथा खरिद प्रक्रिया, प्रविधिको प्रयोग, प्रशिक्षण, मतदाता एवं नागरिक शिक्षा, मतदान एवं मतगणना सञ्चालन तथा निर्वाचन सुरक्षाका लागि सुझाव तथा सहयोग उपलब्ध गराउन सक्छ ।
विरलै अवस्थाहरूमा संयुक्त राष्ट्रसङ्घ सदस्य राष्ट्रमा निर्वाचनको आयोजना तथा सञ्चालनका लागि पूर्ण रूपमा जिम्मेवार हुनसक्छ । यस्तो अवस्था क्याम्बोडियामा (सन १९९२–१९९३) र टिमोर–लेस्टेमा (सन् २००१–२००२) मा आएको थियो । अन्य अवस्थाहरूमा संयुक्त राष्ट्रसङ्घीय विशेषज्ञहरू राष्ट्रिय निर्वाचन प्रशासनमा संलग्न गराइन सक्छन्; यस्ता अवस्थाहरूमा सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घबीच जिम्मेवारी बाँडफाँड हुन्छ । यस्तो अवस्था अफगानिस्तानमा सन २००४–२००५ मा र इराकमा सन २००५ मा आएको थियो । यी अवस्थाहरू केही सङ्क्रमण स्थितिमा अपनाइएका अपवादहरूका रूपमा रहेका छन् । एउटा नियमकै रूपमा संयुक्त राष्ट्रसङ्घले राष्ट्रिय निर्वाचन प्रशासनलाई सहयोग गरेर सहयोगीको भूमिका निर्वाह गर्दछ ।
सदस्य राष्ट्रहरूबाट आएको अनुरोधका अतिरिक्त संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोगलाई कहिलेकाहीँ सुरक्षा परिषद् वा महासभा जस्ता संयुक्त राष्ट्रसङ्घीय सञ्चालक समितिले पनि कार्यादेश दिएका हुन्छन् । शान्तिस्थापना वा शान्तिनिर्माण नियोगहरू निर्वाचनसम्बन्धी कार्यसहित स्थापना गरिँदा प्रायः यस्तो अवस्था हुने गर्दछ । यस्ता निकायहरूबाट कार्यादेश दिइएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय निर्वाचन सहयोगलाई सम्बन्धित सदस्य राष्ट्रबाट अनुमोदन गरेको हुनुपर्दछ ।
सन् १९९१ यता संयुक्त राष्ट्रसङ्घले एक सयभन्दा बढी सदस्य राष्ट्रलाई सहयोग उपलब्ध गराइसकेको छ भने तीन सयभन्दा बढी निर्वाचन परियोजनाहरू कार्यान्वयन गरिसकेको छ ।
वेबसाइट: http://www.un.org/undpa/elections